Wednesday, January 18, 2017

के लेखेका छन् त् जगदीश घिमिरेले आफ्नो कृति सकस मा

पुस्तक समिक्षा
के लेखेका छन् त् जगदीश घिमिरेले आफ्नो कृति सकस मा

सकस
जगदीश घिमिरे

मूल्यः US$7.95
विधा: उपन्यास
पृष्ठसङ्ख्या: ३०६
इन्द्रबहादुर राई :
म 'सकस' का बढ्दा प्रशंसकहरुमध्ये एक हुँ … 'सकस' मदन पुरस्कार विजयी स्रष्टाको एक अत्यन्त शक्तिशाली नवीनतम ऐतिहासिक आख्यान हो, जसले आफ्ना पाठकलाई परिवर्तित व्यक्ति नबनाई छोड्दैन… यसले हामीलाई नेपालका विभिन्न आततायी शासन पद्धतिहरुमा पिसिएका निमुखा जनताले सहेको मौन यन्त्रणासँग बाँच्न लगाउँछ… यस्तो सत्य र निर्भय वर्णनलाई सामान्य प्रशंसाले पुग्दैन… यो हिमालयीय यन्त्रणालाई अङ्ग्रेजी तथा अन्य भाषाहरुमा अनुवाद गरेर यथाशीघ्र बाह्य जगत् समक्ष पुर्‍याउनु पर्छ ।
डा. अभि सुवेदी :
'सकस' नेपाली समयस्मृतिलाई लिएर लेखिएको एक शक्तिशाली साहित्य रचना हो । यस उपन्यासले आधुनिक नेपाल राज्य भएदेखि यता घटित शासकहरुका, 'माथि' भनिने दरबारिया थलोमा विराजमान भारदारहरुका सनकी व्यवहारबाट सर्वसाधारण मानिसले पाएका यातनाको कुशल औपन्यासिक शैलीमा चित्रण गरेको छ । इतिहासमा विद्रोहले परिवर्तन ल्याउँछ, मानिसले मुक्ति पाउँछन् । तर नेपालीले आफ्ना निर्णयहरु स्वतन्त्र भएर गर्ने क्रममा पनि शक्तिको अर्को माखेसाङ्लोमा परेर फेरि यातनाका जटिल परिस्थितिका सिर्जना भएका विडम्बनाको समेत यसमा उत्तिकै सशक्त चित्रण छ । उपन्यासकार निरपेक्ष भएर यो कालक्रम र मानिसका अवस्थाको औपन्यासिक चित्रण गर्न अत्यन्त सफल भएका छन् ।
नीलाम्बर आचार्य :
हाम्रो राजनीति, इतिहास र सभ्यतामा देखा परेका विकृति र रोगहरुको निरन्तरता वा प्रभाव हाम्रो देशको समृद्धिको बाटोमा ठूलो अवरोधका रुपमा रहेको छ । तिनै अवरोधहरुको औपन्यासिक खोजका रुपमा 'सकस' प्रस्तुत गरेर जगदीश घिमिरेले नेपाली साहित्यमा नवीन योगदान पुर्‍याउनुभएको छ । न्याय र समद्धिउन्मुख परिवर्तनका लागि त्यसका नायकहरुको शासकीय र राजनीतिक संस्कृतिमा तदनुकूल परिवर्तन जरूरी छ भन्ने कुरा यो राजनीतिक-ऐतिहासिक उपन्यासले प्रष्ट पारेको छ । नालीबेली सहित वर्तमान राजनीतिका विकृतिहरुको सशक्त चित्रण हो -
'सकस' ।
ज्ञानमणि नेपाल :
व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला-जिल्लाको, क्षेत्र-क्षेत्र मात्र पनि होइन, यो देशैभिरको सर्वाङ्गीण सकस हो । विनाअपराध निर्वासित, विस्थापित जनताबीच अइपरेको सकस हो । अनगिन्ती निर्दोष, निहत्था जनता बिनिसित्ति मारिँदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो… 'सकस' ले पाठकको, मनलाई नछोई छाड्दैन । विषेशत: यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा पैदा गर्छ र कास्न्ण्यले भित्री मन पगाल्छ ।
रोचक घिमिरे :
'सकस' नेपाली जनता र नेपाल राष्टले भोग्नुपरेको सीमाहीन, अन्त्यहीन सकसको महागाथाको गरिमा बोक्न सक्षम छ । पाठकको मन-मथिङ्गलमा हलचल मच्चाउँदै पछिसम्म पनि टिक्ने सामर्थ्य भएको खँदिलो, स्वादिलो खुराक भरिएको, अरुभन्दा सर्वथा भिन्न यस्तो गहन कृतिका सर्जकलाई हार्दिक बधाई ।
नारायण ढकाल :
'लिलाम' देखि 'साबिती' हुँदै 'सकस'सम्मको सृजनायात्रामा उपन्यासकार जगदीश घिमिरेको एक मात्र प्रतिबद्धता हो – सामाजिक न्याको शङ्खघोष । यो प्रतिवद्धता 'सकस' मा अझ बढी मुखर, सघन, परिस्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ… 'सकस'मा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन्… 'सकस' नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।
नयनराज पाण्डे :
'सकस' एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि… यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता अत्यन्त जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्ड क्यानभासमा लेखिएको; अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली छ… 'सकस' नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छु ।
कमल दीक्षित :
साधारणत: म कितापहरु समग्र पढ्दिनँ । मलाई तान्नुपर्छ कितापले नत्र पढ्दिनँ । 'सकस' ले तान्यो, चर्कोसँग तान्यो र पढेँ । धेरै नै मनपर्यो… यो नेपालको 'रघुवंश' हो । यसले देशको अढाई सय वर्षको इतिहास बताउँछ, अत्यन्त रोचक औपन्यासिक पाराले । त्यसैले यो उपन्यास अनौठो छ । यो कुनै जस्तो पनि छैन, आफैँ जस्तो छ; 'रामरावणयोर्युद्धं रामरावणयोरिव' भने जस्तै ।
नगेन्द्रराज शर्मा :
'सकस' ले 'अन्तर्मनको यात्रा' लाई सम्झाउँछ । उसमा जीवन र जगतका कुराका साथै मूलत: स्रष्टाका पीडाको कथा छ; यसमा देश र निमुखा जनताका पीडाको । यौटा संस्मरण हो र अर्को आख्यान । धौलागिरि र माछापुच्छ्रेमा कुन बढी राम्रो ? कति मानेमा 'सकस'ले बहुप्रशंसित 'अन्तर्मनको यात्रा'लाई पनि उछिनेको छ ।
कृष्णमुरारी भण्डारी :
यो नेपालको सकस-गाथा हो… नेपालको इतिहासका जरा बुझ्न चाहनेका लागि 'सकस' यस्तो दस्तावेज हो जसलाई पढेपछि पृथ्वीनारायण शाहदेखि प्रचण्डसम्मका गाथा र पीडा थाहा पाइन्छ… पढ्न थालेपछि सलल बग्छ… बीचबीचमा धेरैपटक स्वाँस्वाँ गर्दै लामो सास फेर्नुपरे पनि खाना खाँदा र लघुशङ्काका निम्ति किताब छाड्दा पनि सकस हुन्छ । हतारका काम सक्नेबित्तिकै पाठङ्क 'सकस'का पाना पल्टाउन एकोहोरिन्छ ।
मनप्रसाद सुब्बा :
'सकस' पढेँ । पढिसकेर लामो सास फेरेँ । यौटा गज्जबको, गतिलो, साह्रै प्रभावकारी उपन्यास पढ्नुको ठूलो सन्तुष्टि अनुभव गरेँ । नेपालको प्रारम्भिक इतिहासदेखि वर्तमानसम्मको इतिवृत्तलाई यत्ति आकर्षक आख्यानको रुप दिनु तपाईं जस्ता सुदक्ष आख्यानकारले मात्र आँटने कुरा हो । कोरा यथार्थलाई यति उच्च औपन्यासिक कलामा प्रस्तुत्याउन सक्नु औसत दक्षताले हुने होइन । समकालीन नेपाली आख्यान-विधामा 'सकस' लाई नहिच्कचाई अघिल्लो पङ्क्तिमा राख्न सकिन्छ ।

Editor Of SMART LIFE
BY RN

No comments:

Post a Comment