Thursday, January 19, 2017

मोदीजी पागल भएका छन्ः केजरीवाल

मोदीजी पागल भएका छन्ः केजरीवाल
६ माघ, काठमाडौं । आम आदमी पार्टीका नेताविरुद्ध सीबीआईले छानविन सुरु गरे लगत्तै अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि धावा बोलेका छन् दिल्लीका मुख्यमन्त्री केजरीवालले मोदीलाई घुस्याहाको आरोप त लगाएका छन् नै, उनी पागल भएको दाबी समेत गरेका छन् ।
सीबीआईले आपका नेता एवं दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियामाथि प्रारम्भीक छानविन थालेको छ । उनीमाथि मुख्यमन्त्री केजरीवालको सोशल क्याम्पेनिङ ‘टक टु एके’मा नियम उल्लंघन र अनियमितताको आरोप छ ।
आमआदमी पार्टी सरकारका अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सौम्या जैनलाई दिल्ली सरकारको मोहल्ला क्लिनिक प्रोजेक्टको सल्लाहकार नियुक्त गरेकोमा पनि सीबीआईले छानविन थालेको छ ।
आफ्ना नेताहरुमाथि छानविन थालेपछि आक्रोसित बनेका केजरीवालले मोदीविरुद्ध लगातार ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘वाह रे मोदीजी । घुस खाने आफू, मुद्दा हामीमाथि । चोरी अनि, सिनाजोरी ।’
उनले गोवा र पञ्जाबमा हार्ने भएपछि सीबीआईको गेम सुरु गरेको आरोप पनि मोदीमाथि लगाएका छन् । उनले अर्को ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि मोदीजी बिल्कुल पागल छन् देशको प्रधानमन्त्री एक मात्र काम गरिरहेका छन् । हात धोएर पछि लागेका छन् ।’

स्कुलबस दुर्घटना

६ माघ, काठमाडौं । उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् । यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो । स्कुलबस यति भयानक थियो कि बसको छत नै उडेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइन्छ । सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।

सजिलो छ माइग्रेनबाट छुटकारा पाउने तरिका :

आधुनिक भागदौड र तनावपूर्ण जीवनमा अनेक समस्याका कारण मानिसको टाउको दुख्ने गर्छ । टाउको दुखाइ एसिडिटी, रुघाखोकीदेखि लिएर टेन्सन, टाउकाको ट्युमर तथा विभिन्न किसिमका स्नायुरोगका कारणबाट हुने गर्छ ।
यस किसिमका टाउको दुखाइहरू कुनै हल्का किसिमका हुन्छन् भने कुनै निकै कडा किसिमका । मानिसको दैनिक जीवनलाई नै प्रभावित पार्ने यस्तै एक भयंकर टाउको दुखाइसम्बन्धी रोग हो, माइग्रेन (अर्धशिरोवेधना) ।
माइग्रेन एक प्रकारको स्नायु भास्कुलर रोग हो । पुरुषको तुलनामा तेब्बर महिलाहरू यसबाट पीडित हुने गर्छन् । हालैको एक अध्ययनअनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेको तथ्य प्रकाशमा आएको छ ।
माइग्रेन रोग महिलाको रोग हो । किशोरकिशोरी, नवयुवा तथा युवाको रोग हो । किनभने यो रोग प्रायः किशोरावस्था तथा युवावस्थामा सुरु हुन्छ र बढी महिलालाई हुन्छ । किशोरावस्थामा सुरु भएको माइग्रेन प्रायः ४० वर्षतिर हराउ“छ । तर पछि सुरु भएको माइग्रेन ५०, ५५ वर्षसम्म पनि रहन्छ । तर यो रोग ४० वर्षपछि बिरल्लै देखा पर्छ ।

लक्षण

माइग्रेनको प्रमुख लक्षण असहनीय टाउको दुखाइ हो । यस्तो दुखाइ प्रायः टाउकाको आधा भागमा, खासगरी बाया“तर्फ, कन्चट र निधारमा हुन्छ । दुखाइस“गै वाकवाकी हुने, उल्टी होला जस्तो हुने, उल्टी हुने तथा चक्कर लाग्ने जस्ता लक्षण देखा पर्न सक्दछ ।
माइग्रेनको दुखाइ मध्यमदेखि लिएर निकै भयंकर खालको हुन्छ । कतिपयलाई माइग्रेनको दुखाइ यति पीडादायक हुन्छ कि रोगी दैनिक कार्य गर्न पूर्ण असमर्थ हुन्छ । बन्द कोठामा, एकान्तमा बस्न रुचाउ“छ । माइग्रेन भएको बेला रोगीले भोजन गर्न, टीभी हेर्न, म्युजिक सुन्न तथा होहल्ला मन पराउँदैन ।


माइग्रेनले दुई-तीन महिनामा, एक वा दुई हप्तामा या दुई–तीन दिनको अन्तरालमा रोगीलाई प्रभावित बनाउ“छ । साधारण तथा माइग्रेन तीन प्रकारका हुन्छन् ।
  • .क्लासिक माइग्रेन
  • .कमन माइग्रेन
  • .कम्पिलिकेटेड माइग्रेन
कारण

माइग्रेनका बेला गर्धन, खोपडी तथा मस्तिष्कका धमनीहरू खुम्चिने र सामान्यभन्दा बढी फैलिने गर्छन् । धमनी सुनिन्छन्, जसले गर्दा टाउकाको उक्त भागमा ठीक मात्रामा रक्तसञ्चार हुन पाउ“दैन र पीडा हुन्छ ।
हरेक मानिसमा गुणहरू पनि हुन्छन्, अवगुणहरू पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन् । गुण नभएका राक्षस हुँदैनन् । तर अनुसन्धानकर्ताको दाबी छ कि यस्तो परिवर्तन माइग्रेनको कारण होइन कि माइग्रेनको परिणाम हो । अधिकांश अनुसन्धानकर्ताका अनुसार मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो । किनभने दुखाइको समयमा मस्तिष्क रसायन जस्तै सेरोटोनिन कम भएको हुन्छ ।
माइग्रेनको अर्को प्रमुख कारण अनुवांशिक हो । परिवारका कुनै सदस्यलाई माइग्रेन भएको छ भने ६० देखि ७० प्रतिशत माइग्रेन हुने सम्भावना रहन्छ । भावनात्मक कारणहरूले पनि माइग्रेन हुन सक्दछ ।
उपचार

माइग्रेन असाध्य (निको नहुने) वा कठिन साध्य रोग मानिन्छ । कुनै पनि चिकित्सा पद्धतिमा यस रोगको पूर्ण उपचार छैन । त्यसैले माइग्रेनको सर्वोत्तम उपचार भनेको नै एकीकृत चिकित्सा (इन्टिगे्रटेड मेडिसिन) हो । अतः माइग्रेनको चिकित्सा निम्न प्रकार गरिनुपर्छ ।
  • . ट्रिगरको पहिचान र त्यसको त्याग ।
  • . उचित औषधिको सेवन ।
  • . उचित जीवनशैली तथा व्यायाम ।
  • . माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योगा
  • . सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम
  • . एक्युपन्चर तथा एक्युप्रेसर ।
  • . रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह ।
माइन्डबडी मेडिसिन

हरेक मानिसको मन (माइन्ड) मा अद्भुत शक्ति हुन्छ । मानिसको मनले नै मानिसलाई रोगी वा निरोगी बनाउने, रोग लागेको छ भने त्यसबाट छुटकारा दिलाउने कार्य गर्छ । मानिसको मानसिक शक्तिलाई मेडिसिनको रूपमा प्रयोग गर्न सकिन्छ ।
अतः मानिसको मनको शक्तिलाई सदुपयोग गरी गरिने उपचार नै माइन्ड बडी मेडिसिन हो । माइन्ड बडी मेडिसिनका अनेक टेक्निक छन् । जस्तैः साइकोथेरापी, हिप्नोसिस, योगा, मेडिटेसन, भिजुअलाइजेसन, बायोफिड ब्याक आदि ।
माइन्ड बडी मेडिसिन उपचारको होलेस्टिक पद्धति भएकाले माइग्रेनका लागि निकै लाभदायक मानिन्छ । माइग्रेनका रोगीले आफैं, घरमै बसेर, गर्न सकिने चिकित्सा प्रस्तुत गरिएको छ ।
माइग्रेनको माइन्ड–बडी लाइफस्टाइल प्रोग्राम
  • . बिहान उठेपछि एक गिलास पानीमा एक चम्चा मह हालेर पिउने वा दुई गिलास पानी पिउने र दिसापिसाब गरेपछि तिलको तेलले सम्पूर्ण शरीर तथा टाउको आरामसँग मज्जाले मालिस गर्ने । अनि नुहाउने ।
  • . खुल्ला, शान्त र हावा खेल्ने ठाउँमा आरामले बसेर १० देखि १५ मिनेट अनुलोम विलोम प्राणायाम, गर्मीमा पाँचदेखि १० पटक शीतली प्राणायाम गर्ने । त्यसपछि आधादेखि एक मिनेट अर्धशीर्षासन तथा मत्स्यासन गर्ने । अनि पाँच/पाँच पटक ब्रह्मा मुद्रा तथा गर्धन, कान, कञ्चट तथा अनुहारको मालिस गर्ने । अन्त्यमा भिज्युलाइजेसनमा आधारित वि श्राम ध्यान गर्ने ।
  • . माइग्रेनको ट्रिगर पहिचान गरी त्यसलाई हटाउने । जस्तो कि जुन कुरा खाँदा वा गर्दा माइग्रेन हुन्छ, त्यस्तो कुरा नखाने तथा नगर्ने । कोचीकोची नखाने, तर उपवास पनि नबस्ने । बिहान नास्ता गर्ने, ठीक मात्रामा खाना खाने, अपराह्न नास्ता र साँझ हल्का खाना खाने ।
  • . अभिरुचिपूर्वक पढाइलेखाइ वा कार्यमा ध्यान दिने । मनलाई दह्रो बनाएर तथा आत्मबल बढाएर, हरेश नखाइकन माइग्रेन ठीक पार्ने प्रयास गर्ने । कतिखेर माइग्रेनको आक्रमण हुने हो भन्ने चिन्ता नगर्ने, टेन्सन नलिने । हिम्मत र साहसले माइग्रेनको मुकाबिला गर्ने । पौष्टिक आहार सेवन गरेर, दिनचर्या ठीक राखेर, प्राणायाम, योगासन तथा व्यायाम आदि गरेर आफूलाई शारीरिक तथा मानसिक रूपमा मजबुत बनाउने ।
  • . तार्किक र सकारात्मक सोच राख्ने । यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा मूर्ख छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा सुन्दर वा कुरूप पनि छैनन् । कुनै पनि मानिस पूर्ण रूपमा असल वा खराब पनि छैनन् । हरेक मानिसमा गुणहरू पनि हुन्छन्, अवगुणहरू पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हुँदैनन् । गुण नभएका राक्षस हुँदैनन् ।
  • .माइग्रेनको आक्रमण हुने लक्षण देखा पर्‍यो भने वा भयो भने अँध्यारो कोठामा बसेर शीतली प्राणायाम तथा अनुलोम विलोम प्राणायाम गर्ने । अनि पाँच पटक लामो र गहिरो सास लिने र बरफको डल्लोले शिर दुखाइ भएको ठाउँमा हल्कासँग मालिस गरेको, मालिस गर्दा दुखाइ घट्दै गएको र केही बेरको मसाजपछि दुखाइ हटेको कल्पना गर्ने ।
  • . स्कुल, कलेज वा कामबाट घर फर्किएपछि हातमुख, खुट्टा धुने वा नुहाउने र वि श्राम ध्यान गर्ने । अनि खजा खाने ।
  • . घरमा पारिवारिक वातावरणलाई रमाइलो र प्रेमपूर्ण बनाउने । घरलाई टेन्सनमुक्त क्षेत्र बनाउने ।
  • . रात्रि जागा नबस्ने । राति अबेरसम्म पनि नबस्ने । जुन भागतर्फ शिर दुखाइ हुन्छ, त्यसतर्फ कोल्टो नसुत्ने । सिरानी नराखी उत्तानो सुत्ने । राति सुत्नुपूर्व हातमुख तथा खुट्टा धुने, एक गिलास पानी वा एक गिलास दूधमा एक चम्चा घिउ हालेर पिउने । तिलको तेलले टाउको तथा हातखुट्टा मालिस गर्ने । नाकमा पाँच/पाँच थोपा बदामको तेल हाल्ने र वि श्राम ध्यान गर्दै गहिरो र मीठो निद्रा सवासनमा (उत्तानो) सुत्ने ।

Wednesday, January 18, 2017

के हो त् बास्तबिक 4G इन्टरनेट :थाहा पाइरखौ

मोवाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवा सुरु भएको छ । यो सेवा थ्री जी भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ । नेपाल टेलिकमले आफ्ना उपभोक्ताका लागि पहिलोपटक फोर जी मोबाइल इन्टरनेट सेवा दिन शुरु गरेको हो । तीन अर्ब ८० करोड रुपैयाँ खर्च गरेर ल्याइएको भनिएको यो सेवा अहिले तीन लाख ५० हजार ग्राहकले मात्र प्राप्त गर्ने टेलिकमले जनाएको छ ।
यो सेवाको इन्टरनेटमा उच्च गतिको अडियो एवं भिडियो फाइल सजिलै प्ले गर्न सकिन्छ । फोर जी खास गरि भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, न्युज, टेलिमेडिसिन जस्ता उच्च गतिको इन्टरनेटमा आधारित सेवाको लागि उपयोगी हुन्छ ।
फोर जी सेवा हाल नेपाल टेलिकमको पोष्ट पेड सिममा मात्र चल्नेछ । आगामी माघ २२ गते टेलिकमको वार्षिकोत्सवमा प्रिपेड मोबाइलमा पनि यो सेवा 'व्यवसायिक लञ्च' गरिने जानकारी एनटिसीले दिएको छ ।
हाल काठमाडौं उपत्यका एवं पोखराका केही स्थानमा मात्र यो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवा हाल व्याण्ड थ्री अन्तर्गत १८०० मेगाहर्जमा सञ्चालन गरेको छ ।
यो सेवा एक्टिभेट गर्न 'स्टार फोर फोर फोर ह्यास' डायल गर्नुपर्छ । यसपछि प्राप्त निर्देशन अनुरुप सिम परिक्षण गर्न तथा फोर जी सेवा एक्टिभेट गर्न सकिनेछ । फोर जी चलेपछि नोटिफिकेसन बारमा फोर जी अथवा एलटीइ लेखिएको देखिनेछ । उपयुक्त सिम नभएमा सिम परिवर्तन गर्नुपर्ने सूचना प्राप्त हुनेछ ।

सन् २०१६ मा तरकारीवाली, लोकमान र कुलमान भाइरल ! / VIRAL OF 2016

सन् २०१६ मा तरकारीवाली, लोकमान र कुलमान भाइरल !


समाजिक सञ्जालमा को र के विषय भाइरल भयो?

सन् २०१६ मा सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत व्यक्ति चर्चित बने ।

फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनका अनुसार गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार सुमन खरेलद्वारा कान्तिपुर टेलिभिजनमा कञ्चन शर्माको अन्तवार्ता (सुमन भाई) र प्रधानमन्त्री पुष्ककमल दाहालद्वारा सार्वजनिक गरिएको सम्पत्ति विवरण, पूर्वप्रधानमन्त्री केपी शर्माओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गरेका हावाबाट बिजुली निकाल्ने र घरघरमा ग्यास पाइपलाइन पुर्‍याउने विषय भाइरल बने ।

यस्तै २०१६ को सुरुमा भारतले लगाएको अघोषित नाकाबन्दी यथावत रहेकोले नाकाबन्दीले पनि सामाजिक सञ्जालमा राम्रै स्थान पायो ।

मिडियासम्बन्धी नीतिगत विश्लेषण गर्दै फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल भन्छन्, 'राष्ट्रिय आमसञ्चार नीति मन्त्रिपरिषद्बाट पारित हुनु सकारात्मक भए पनि त्यसभित्र रहेका अनेकौँ त्रुटिहरू नसच्याए नीति अपुरो हुनेछ ।'

इन्टरनेटमा आधारित मिडियाको ‘रजिस्ट्रेससन’, प्रेस काउन्सिल नेपालद्वारा पत्रकार बन्न परीक्षा दिनुपर्ने तयारी, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवा –(पिएसबी) मा लैजाने तयारी नहुनु आमसञ्चार नीतिका कमजोरी रहेको उनले औँल्याए ।

समाचार लेखेकै कारण धनुषामा राजनीतिक दलका स्थानीय नेता तथा जिविसका कर्मचारीद्वारा पत्रकारमाथि आक्रमण हुनु, सिंहदरबारभित्रै फोटो पत्रकारमाथि प्रहरीबाट दुर्व्यवहार हुनु र धादिङमा रातारात एफएम रेडियो कार्यालयमा आक्रमण हुनु दुःखद् प्रतिनिधि घटनाका रुपमा प्रतिवेदनले उल्लेख गरेको छ ।

यद्यपी सरकारद्वारा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि हुनुलाई भने सकारात्मक रुपमा लिइएको छ ।

इन्टरनेट प्रयोग कर्ता बढे

नेपालमा प्रत्येक वर्ष इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन् । गत वर्षको अध्ययनमा ४४.१ प्रतिशत थिए भने २०१६ मा ५२.७ प्रतिशतले नेपाली इन्टरनेटको पहुँचमा पुग्न सफल भएका छन् । यसमध्ये ८० लाख नेपाली सामाजिक सञ्जाल प्रयोग गर्छन् ।

सन् २०१६ मा नेपाली मिडियाः शान्तिपूर्ण तर दण्डहीनता कायमै

गएको एक वर्ष ( सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको उक्त अध्ययनले देखाएको छ । प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा भने कमी आएको छ । सन् २०१५ मा ८३ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका थिए । त्यसमध्ये एकजना पत्रकार मारिएका थिए । प्रतिवेदनका अनुसार गत एक वर्षको अवधिमा गरिएको मिडिया अनुगमनका क्रममा २५ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् । सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा पत्रकारमाथि आक्रमण ११, धम्की पाँच, पक्राउ पाँच र सामान्य हातपात चारवटा घटना भएका छन् । उक्त अवधिमा ७५ जना सञ्चारकर्मी प्रभावित बनेको प्रतिवेदनमा औंल्याइएको छ । यस अवधिमा सबैभन्दा धेरै प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना प्रदेश नं ३ मा भएका छन् । उक्त प्रदेशमा १२ वटा घटना भएका छन् । घटनामध्ये अधिकांश सुरक्षा निकाय तथा राजनीतिक दलका स्थानीय नेता र उनीहरूका भ्रातृसंस्थाबाट भएका छन् । यति धेरै घटना राजधानी नै रहेको प्रदेशमा हुनु दुःखदायी भएको प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी, प्रदेश नं. १ मा एक, नं २ मा ६, नं ५ मा चारवटा र नं ७ मा २ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् भने प्रदेश नं. ४ र नं ६ मा कुनै घटना भएका छैनन् । धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना आन्दोलनका समाचार सम्पे्रषण गर्ने क्रममा भएका छन् । प्रतिवेदनका अनुसार आर्थिक अनियमितता, भ्रष्टाचार, व्यापारिक चलखेल, आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकार विशेषतः आक्रमणमा परेका छन् ।

रहश्यमय प्रेम

रहश्यमय प्रेम

छुकी

बिना तामाङ 'सुनगाभा'

मूल्यः US $ 2.95

म छुकीसँग पुरै जीवन बिताउन चाहन्थेँ । एउटा भिन्नै संसार सजाउन चाहन्थेँ । तर त्यसका लागि छुकी तयार हुनुपथ्र्यो । उनले मलाई कसरी हेरेकी छिन् म यस कुराबाट अनभिज्ञ थिएँ । एक मनले भन्थ्यो– ‘छुकीलाई पक्कै थाहा छ म उनलाई मन पराउँछु ।’ अर्को मन भन्थ्यो– ‘विचरा मैले कहिले भने पो थाहा पाउनु ।’ यस्तै दुविधामा रुम्मलिएँ निकै दिन । अनि मुटु दरो पारेर निकै भावुक भएर एकदिन भनिछाडेँ– ‘छुकी म हजुरलाई मन पराउँछु र बाँकी जीवन हजुरसँग बिताउन चाहन्छु । के हजुर मलाई साथ दिनु हुन्छ ? कृपया मलाई गलत ढङ्गले नबुझिदिनु होला ।’

यति भनिसक्दा मेरो शरीर पुरै काँपिरहेको थियो । गला अबरूद्ध भएको थियो । होस्हवास उडिसकेको थियो । मैले उनको जवाफ चाहेको थिएँ । सकारात्मक या नकारात्मक, तत्कालै जवाफको प्रतीक्षामा थिएँ । तर उनी मौन रहिन् । सोचेको थिएँ– कि त म उनको प्रतिक्रियाबाट अत्यन्तै खुशी हुन्छ कि त दुःखी । तर छुकी शान्त नै थिइन्, मानौँ उनमा कुनै संवेग नै थिएन ।

प्रतिक्रियाहीन उनको अनुहारमा म भुटभुटिएँ । न हाँसो न विस्मात । न आक्रोश न माया । न खुशी न दुःखी । उनको मुखाकृति एकदमै शून्य थियो । निकैबेर उनी जडवत् शरीर र संवेगहीन अनुहार बोकेर उभि रहिन् । म युद्धभूमिमा हार खाएको योद्धा झैं चुपचाप बसिरहेँ। भित्री मनमा भने ज्वारभाटा उठिरहेको थियो– कतै मैले

छुकीको मन त दुखाइनँ ? भावनामा ठेस त पुर्‍याइनँ ?

म निरुत्तर कोठामा फर्कें । रातभर औडाह र छटपछीले सताइ रह्यो । आँखाभरि छुकीको निरुत्तर अनुहार खेलाउँदै कोल्टे फेरिरहें । छुकीको त्यो रात कस्तो भयो होला ? भोलिपल्ट छुकी चाँडै अफिस गइछिन् र राति अबेर मात्रै फर्किइन् । पर्सिपल्ट बिहानै घन्द्रयाङ घुन्द्रुङ् आवाजले मलाई ब्युझायो । झ्यालको पर्दा बिस्तारै तानेर तल आँगनमा हेरेँ । उफ् ! छुकी त भटाभट कोठाको सामान पो ओसार्दै थिइन् । म छानाबाट खसेझैँ भएँ । छुकी यस घरबाट जाँदै थिइन् । मैले यति बुझेँ । लाग्यो– मेरो धृष्टताको सजाय छुकीले म र यो घरबाट अलग्गिएर दिंदैछिन् । म अपराधबोधले निचोरिएँ ।

एकाएक रिङ्गटा छुट्यो । शरीर थरथरी काँप्यो । आँखाहरू त्यसै त्यसै रसाएर आए, मानौं अविरल नदी बग्न खोज्दैछ । मनभरि प्रश्नहरू दौडाइरहें– ‘किन ? किन ? छुकी किन ? मलाई यति ठूलो सजाय दिँदै छ्यौ ? मैले गल्ती गरेको भए गालामा थपड हाने नि हुन्थ्यो ।

अथवा मुखमा थुके पनि म सहन सक्थेँ । तर त्योभन्दा पनि बढ्ता चोट दिएर यहाँबाट किन जाँदैछ्यौ ? किन ?’ म उनको अगाडि यस्तै प्रश्नहरू तेस्र्याउन चाहन्थेँ । तर खुट्टाहरू जमे, भूँइमै टाँसिए जस्तो । पाइला जति प्रयास गर्दा पनि सर्दै सरेन । अस्ति छुकी जड्वत बनेकी थिइन्, आज म भएको छु । मेरो अनुहार प्रतिक्रियाहीन बनिरह्यो– फुङ्ग उडेको । एकोहोरो एकोहोरो ।

मनभित्र भुलुक्क केही भएको झैं भयो मलाई । संसारै बिरानो लाग्न थाल्यो मानै अब बाँच्नुको कुनै सार्थकता छैन । कसैलाई अनाहकमा पुर्‍याएको चोटको अपराधबोधी मनोविज्ञानमा म पिल्सिरहें पिल्सिरहें । सजायको भागिदार म नै हुँ । यस्तै सोचें । र आत्मग्लानीको दबदबे हिलोमा म डुबें । मनमा विचार आयो– अब यो सजायको भागिदार म आफैं हुनुपर्छ । यसपछि मैले कोठाको सिलिङतिर हेरें र, फटाफट डोरी बाँध्न थालेँ ।

‘ढक ढक ढक ढक....’ ढोकामा त्यति नै बेला कसैले आवाज दियो । हतास मनस्थितिका साथ ढोका खोलेँ । बाहिर छुकी उही अनुहार उभिरहेको थियो– हातमा कागजको टुक्रासहित ।

के लेखेका छन् त् जगदीश घिमिरेले आफ्नो कृति सकस मा

पुस्तक समिक्षा
के लेखेका छन् त् जगदीश घिमिरेले आफ्नो कृति सकस मा

सकस
जगदीश घिमिरे

मूल्यः US$7.95
विधा: उपन्यास
पृष्ठसङ्ख्या: ३०६
इन्द्रबहादुर राई :
म 'सकस' का बढ्दा प्रशंसकहरुमध्ये एक हुँ … 'सकस' मदन पुरस्कार विजयी स्रष्टाको एक अत्यन्त शक्तिशाली नवीनतम ऐतिहासिक आख्यान हो, जसले आफ्ना पाठकलाई परिवर्तित व्यक्ति नबनाई छोड्दैन… यसले हामीलाई नेपालका विभिन्न आततायी शासन पद्धतिहरुमा पिसिएका निमुखा जनताले सहेको मौन यन्त्रणासँग बाँच्न लगाउँछ… यस्तो सत्य र निर्भय वर्णनलाई सामान्य प्रशंसाले पुग्दैन… यो हिमालयीय यन्त्रणालाई अङ्ग्रेजी तथा अन्य भाषाहरुमा अनुवाद गरेर यथाशीघ्र बाह्य जगत् समक्ष पुर्‍याउनु पर्छ ।
डा. अभि सुवेदी :
'सकस' नेपाली समयस्मृतिलाई लिएर लेखिएको एक शक्तिशाली साहित्य रचना हो । यस उपन्यासले आधुनिक नेपाल राज्य भएदेखि यता घटित शासकहरुका, 'माथि' भनिने दरबारिया थलोमा विराजमान भारदारहरुका सनकी व्यवहारबाट सर्वसाधारण मानिसले पाएका यातनाको कुशल औपन्यासिक शैलीमा चित्रण गरेको छ । इतिहासमा विद्रोहले परिवर्तन ल्याउँछ, मानिसले मुक्ति पाउँछन् । तर नेपालीले आफ्ना निर्णयहरु स्वतन्त्र भएर गर्ने क्रममा पनि शक्तिको अर्को माखेसाङ्लोमा परेर फेरि यातनाका जटिल परिस्थितिका सिर्जना भएका विडम्बनाको समेत यसमा उत्तिकै सशक्त चित्रण छ । उपन्यासकार निरपेक्ष भएर यो कालक्रम र मानिसका अवस्थाको औपन्यासिक चित्रण गर्न अत्यन्त सफल भएका छन् ।
नीलाम्बर आचार्य :
हाम्रो राजनीति, इतिहास र सभ्यतामा देखा परेका विकृति र रोगहरुको निरन्तरता वा प्रभाव हाम्रो देशको समृद्धिको बाटोमा ठूलो अवरोधका रुपमा रहेको छ । तिनै अवरोधहरुको औपन्यासिक खोजका रुपमा 'सकस' प्रस्तुत गरेर जगदीश घिमिरेले नेपाली साहित्यमा नवीन योगदान पुर्‍याउनुभएको छ । न्याय र समद्धिउन्मुख परिवर्तनका लागि त्यसका नायकहरुको शासकीय र राजनीतिक संस्कृतिमा तदनुकूल परिवर्तन जरूरी छ भन्ने कुरा यो राजनीतिक-ऐतिहासिक उपन्यासले प्रष्ट पारेको छ । नालीबेली सहित वर्तमान राजनीतिका विकृतिहरुको सशक्त चित्रण हो -
'सकस' ।
ज्ञानमणि नेपाल :
व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला-जिल्लाको, क्षेत्र-क्षेत्र मात्र पनि होइन, यो देशैभिरको सर्वाङ्गीण सकस हो । विनाअपराध निर्वासित, विस्थापित जनताबीच अइपरेको सकस हो । अनगिन्ती निर्दोष, निहत्था जनता बिनिसित्ति मारिँदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो… 'सकस' ले पाठकको, मनलाई नछोई छाड्दैन । विषेशत: यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा पैदा गर्छ र कास्न्ण्यले भित्री मन पगाल्छ ।
रोचक घिमिरे :
'सकस' नेपाली जनता र नेपाल राष्टले भोग्नुपरेको सीमाहीन, अन्त्यहीन सकसको महागाथाको गरिमा बोक्न सक्षम छ । पाठकको मन-मथिङ्गलमा हलचल मच्चाउँदै पछिसम्म पनि टिक्ने सामर्थ्य भएको खँदिलो, स्वादिलो खुराक भरिएको, अरुभन्दा सर्वथा भिन्न यस्तो गहन कृतिका सर्जकलाई हार्दिक बधाई ।
नारायण ढकाल :
'लिलाम' देखि 'साबिती' हुँदै 'सकस'सम्मको सृजनायात्रामा उपन्यासकार जगदीश घिमिरेको एक मात्र प्रतिबद्धता हो – सामाजिक न्याको शङ्खघोष । यो प्रतिवद्धता 'सकस' मा अझ बढी मुखर, सघन, परिस्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ… 'सकस'मा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन्… 'सकस' नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।
नयनराज पाण्डे :
'सकस' एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि… यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता अत्यन्त जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्ड क्यानभासमा लेखिएको; अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली छ… 'सकस' नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छु ।
कमल दीक्षित :
साधारणत: म कितापहरु समग्र पढ्दिनँ । मलाई तान्नुपर्छ कितापले नत्र पढ्दिनँ । 'सकस' ले तान्यो, चर्कोसँग तान्यो र पढेँ । धेरै नै मनपर्यो… यो नेपालको 'रघुवंश' हो । यसले देशको अढाई सय वर्षको इतिहास बताउँछ, अत्यन्त रोचक औपन्यासिक पाराले । त्यसैले यो उपन्यास अनौठो छ । यो कुनै जस्तो पनि छैन, आफैँ जस्तो छ; 'रामरावणयोर्युद्धं रामरावणयोरिव' भने जस्तै ।
नगेन्द्रराज शर्मा :
'सकस' ले 'अन्तर्मनको यात्रा' लाई सम्झाउँछ । उसमा जीवन र जगतका कुराका साथै मूलत: स्रष्टाका पीडाको कथा छ; यसमा देश र निमुखा जनताका पीडाको । यौटा संस्मरण हो र अर्को आख्यान । धौलागिरि र माछापुच्छ्रेमा कुन बढी राम्रो ? कति मानेमा 'सकस'ले बहुप्रशंसित 'अन्तर्मनको यात्रा'लाई पनि उछिनेको छ ।
कृष्णमुरारी भण्डारी :
यो नेपालको सकस-गाथा हो… नेपालको इतिहासका जरा बुझ्न चाहनेका लागि 'सकस' यस्तो दस्तावेज हो जसलाई पढेपछि पृथ्वीनारायण शाहदेखि प्रचण्डसम्मका गाथा र पीडा थाहा पाइन्छ… पढ्न थालेपछि सलल बग्छ… बीचबीचमा धेरैपटक स्वाँस्वाँ गर्दै लामो सास फेर्नुपरे पनि खाना खाँदा र लघुशङ्काका निम्ति किताब छाड्दा पनि सकस हुन्छ । हतारका काम सक्नेबित्तिकै पाठङ्क 'सकस'का पाना पल्टाउन एकोहोरिन्छ ।
मनप्रसाद सुब्बा :
'सकस' पढेँ । पढिसकेर लामो सास फेरेँ । यौटा गज्जबको, गतिलो, साह्रै प्रभावकारी उपन्यास पढ्नुको ठूलो सन्तुष्टि अनुभव गरेँ । नेपालको प्रारम्भिक इतिहासदेखि वर्तमानसम्मको इतिवृत्तलाई यत्ति आकर्षक आख्यानको रुप दिनु तपाईं जस्ता सुदक्ष आख्यानकारले मात्र आँटने कुरा हो । कोरा यथार्थलाई यति उच्च औपन्यासिक कलामा प्रस्तुत्याउन सक्नु औसत दक्षताले हुने होइन । समकालीन नेपाली आख्यान-विधामा 'सकस' लाई नहिच्कचाई अघिल्लो पङ्क्तिमा राख्न सकिन्छ ।

Editor Of SMART LIFE
BY RN